प्रचण्डको चेतावनी : सरकार नसच्चिए आन्दोलनमा उत्रिन्छौँ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारले गलत कामलाई निरन्तरता दिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शनिबार बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधिलाई केही समयसम्म नियाल्ने र आवश्यक परे आन्दोलन सुरु गर्ने तयारीमा पार्टी रहेको बताए।
“अहिले हामी बोल्ने बेला आउला भनेर बसेका छौँ। आवश्यक परे बोल्ने मात्रै होइन, राम्रोसँग लड्ने पनि छौँ,” प्रचण्डले भने।
उनले भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रम सुशासन वा सुधारका उद्देश्यले नभई ठूलो अन्तर्राष्ट्रिय रणनीति र षड्यन्त्रको हिस्सा भएको दाबी गरे।
नेपालको भू–राजनीतिलाई प्रभाव पार्ने तथा भारत र चीनलाई नियन्त्रण गर्ने उद्देश्यसहित ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत ती गतिविधि भएको बुझ्न कठिन नरहेको उनको भनाइ थियो।
प्रचण्डले पार्टीभित्रैबाट आफू र नेकपा नेतृत्वलाई कमजोर बनाउने तथा अपमानित गर्ने प्रयास भइरहेको आरोप पनि लगाए। उनले पार्टीको मूल नेतृत्व इतिहास, आन्दोलन र संघर्षबाट निर्माण हुने भएकाले कसैले चाहेर बनाउने वा हटाउने विषय नभएको बताए।
यद्यपि, राजनीतिक र सांगठनिक कार्यशैलीबारे व्यापक छलफलपछि उपयुक्त नेतृत्व तयार भए आफू जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको उनले स्पष्ट पारे।
उनले अहिले अन्य राजनीतिक दलसँग पार्टी एकताको चर्चा गर्नुभन्दा आगामी महाधिवेशनको तयारीमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।







