सुनको मूल्यमा नयाँ रेकर्ड: लगातार वृद्धि जारी, प्रतितोला २ लाख ३५ हजार रूपैयाँ पुग्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। प्रतितोला २ हजार ३ सय रूपैयाँले वृद्धि भई सुनको मूल्य तोलाको २ लाख ३५ हजार ४ सय रूपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो। सोमबार पनि सुनको मूल्यमा प्रतितोला २ हजार ५ सय रूपैयाँले वृद्धि भएको थियो। दुई दिनमा सुनको मूल्य करिब ४ हजार ८ सय रूपैयाँले उकालो लागेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने मुख्य कारणहरूमा बढ्दो भूराजनीतिक तनाव, अमेरिकी ब्याजदरमा कटौतीको अपेक्षा, र वित्तीय बजारमा देखिएको अनिश्चितता रहेका छन्। युक्रेन र मध्यपूर्वका द्वन्द्व तथा अमेरिका र चीनबीच बढ्दो तनावले विश्वका केन्द्रीय बैंकहरूलाई सुन भण्डारण बढाउन उत्प्रेरित गरेको छ।
नेपालमा सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिसँगै अमेरिकी डलरको मूल्य पनि प्रभावकारी भूमिका खेलेको छ। अमेरिकी डलर सूचकांकमा आएको गिरावटले सुनलाई सस्तो बनाएको छ, जसले विश्वव्यापी लगानीकर्ताहरूको माग बढाएको हो।
विश्व सुन बजारमा केन्द्रीय बैंकहरूले २०२५ मा सुन भण्डारणमा वृद्धि गर्ने अपेक्षा राखेका छन्। नेपालमा समेत सुनको मूल्य निर्धारण भन्सार दर, बैंक लागत, नाफा र वैदेशिक विनिमय दरलाई ध्यानमा राखिएको छ । विशेषज्ञहरूले सुनको मूल्यमा सुधार आउन सक्ने भए पनि यस वर्ष सुनको मूल्य वृद्धि जारी रहने अनुमान गरेका छन्।













