शिक्षामा दलीयकरणले ठूलो समस्या निम्त्यायो : गगन थापा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा क्षेत्रमा दलीयकरणले गम्भीर समस्या निम्त्याएको बताएका छन्। विद्यालयको व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत प्रभाव बढ्नु शिक्षा क्षेत्रका लागि चुनौती बनेको उनको भनाइ छ।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले शिक्षा क्षेत्रमा राजनीति नभई दलीयकरण भएको उल्लेख गर्दै त्यसबाट बाहिर निस्कन आवश्यक रहेको बताए। उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसमेत आफ्नै दलका व्यक्तिलाई बनाउने प्रवृत्तिले शिक्षा प्रणालीलाई कमजोर बनाएको टिप्पणी गरे।
‘हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो, शिक्षक पनि हाम्रो मान्छे चाहियो भन्ने सोचबाट बाहिर निस्कनुपर्छ। त्यो राजनीति होइन, दलीयकरण हो,’ उनले भने।
सभापति थापाले विभिन्न शिक्षक संगठनमा आबद्ध शिक्षकहरूले आफ्नो पेसागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे त्यसले देश र पार्टी दुवैलाई सकारात्मक योगदान पुग्ने बताए। उनले नेपाली कांग्रेससँग आबद्ध शिक्षकहरूलाई विद्यालयमा आफ्नो भूमिका जिम्मेवार ढङ्गले निर्वाह गर्न आग्रह गर्दै यही नै पार्टीप्रतिको सबैभन्दा ठूलो योगदान हुने धारणा व्यक्त गरे।







