हान्टा भाइरसको प्रकोप समाप्त भएको डब्ल्यूएचओको घोषणा

User Image Prime TV News २ हप्ता अगाडि
Image of हान्टा भाइरसको प्रकोप समाप्त भएको डब्ल्यूएचओको घोषणा

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्पेनको क्यानरी टापुस्थित टेनेरिफमा देखिएको हान्टा भाइरसको प्रकोप समाप्त भएको घोषणा गरेको छ।

डब्ल्यूएचओका अनुसार भाइरस सङ्क्रमित अन्तिम व्यक्ति पूर्ण रूपमा निको भई क्वारेन्टाइनबाट बाहिरिएपछि प्रकोप अन्त्य भएको औपचारिक घोषणा गरिएको हो।

अर्जेन्टिनाबाट स्पेनतर्फ गइरहेको एक पानीजहाजमा हान्टा भाइरसको सङ्क्रमण देखिएपछि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यलाई क्वारेन्टाइनमा राखी परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा १२ जनामा हान्टा भाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने एक जनामा सम्भावित सङ्क्रमण देखिएको थियो। सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको थियो।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले मे २५ यता नयाँ सङ्क्रमण पुष्टि नभएको जानकारी दिँदै अब हान्टा भाइरसको उक्त प्रकोप समाप्त भएको बताएका छन्।

यद्यपि, वैज्ञानिक र स्वास्थ्य विज्ञहरूले यस घटनाबाट सिकाइ गर्दै भविष्यमा यस्ता सङ्क्रामक रोगको जोखिम रोकथामका लागि थप अध्ययन र अनुसन्धान जारी राख्ने बताएका छन्।