आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

User Image Prime TV News २ हप्ता अगाडि
Image of आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले वर्षाको क्रम अझ केही दिन जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।