निर्वाचन आयोगले प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगले प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

काठमाडौ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। कार्यतालिका सार्वजनिक गरेसँगै आयोगले उच्चस्तरीय छलफल सुरु गर्ने जनाएको छ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि आज प्रधानमन्त्री सुशीला कार्कीसँग पहिलो चरणको छलफल गर्ने तयारी गरेको हो। आयोगका पदाधिकारीहरू मंगलबार दिउँसो ३ बजे सिंहदरबार पुग्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

छलफलमा निर्वाचन तयारीका विविध पक्षहरू शान्ति सुरक्षा, मतपेटिका र मतपत्र व्यवस्थापन, मतदाता नामावली अद्यावधिक लगायतका प्राविधिक र व्यवस्थापकीय विषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि वार्ता अघि बढाउने तयारी गरेको छ।

आयोगले सबै दलहरूसँग छुट्टाछुट्टै बैठक आयोजना गर्ने गृहकार्य थालेको छ। आयोगको सक्रियता निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउनका लागि महत्वपूर्ण मानिएको छ। दलहरूबीच विश्वास कायम राख्दै आयोगले निर्वाचनको वातावरण बनाउन छलफललाई प्राथमिकता दिएको छ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि सरकारले भने निर्वाचनका बिषयमा राजनीतिक दलहरु संग छलफल गरेको छैन ।