राहदानी छपाइ प्रकरणमा निष्पक्ष छानबिनको माग, सरकारमाथि कांग्रेसको आलोचना

User Image Prime TV News २ हप्ता अगाडि
Image of राहदानी छपाइ प्रकरणमा निष्पक्ष छानबिनको माग, सरकारमाथि कांग्रेसको आलोचना

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइ खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेससहित विपक्षी दलहरूले विरोध जनाएपछि सांसद खडकबहादुर बुढाले सरकारको कार्यशैलीप्रति आपत्ति व्यक्त गरेका हुन्। सांसद बुढाले राहदानी छपाइ प्रक्रियामा आर्थिक चलखेल भएको दाबी गर्दै भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले निष्पक्ष अनुसन्धानमा कांग्रेसको पूर्ण सहयोग रहने स्पष्ट पारे।

उनले राहदानी विभागका महानिर्देशकलाई दबाब दिएर सस्तो प्रस्ताव रद्द गरी पुरानै कम्पनीसँग प्रति पासपोर्ट दुई अमेरिकी डलर महँगोमा खरिद गर्ने प्रयास भएको आरोप लगाए। भेरिएसन अर्डरमार्फत ठूलो आर्थिक अनियमितता गर्न खोजिएको दाबी गर्दै यस्ता गतिविधि स्वीकार्य नहुने उनले बताए।

सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्ततामाथि पनि प्रश्न उठाए। संवैधानिक निकायमाथि सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै उनले अख्तियार स्वतन्त्र रूपमा काम गर्न सक्नुपर्ने धारणा राखे।

प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्री तथा संवैधानिक निकायको भूमिकामाथि हस्तक्षेप गरेको आरोपसमेत लगाउँदै उनले सरकारले संविधान र कानुनभन्दा आदेशमुखी शैली अपनाएको टिप्पणी गरे। साथै, संसद्मा प्रतिपक्षका आवाजलाई बेवास्ता गर्दै सरकारले सुशासनका नारामात्र दिएको उनको आरोप थियो।