कांग्रेसको संस्थापन इतरपक्षले खोल्यो सम्पर्क कार्यालय, राष्ट्रिय भेलाको तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसको संस्थापन इतरपक्षले खोल्यो सम्पर्क कार्यालय, राष्ट्रिय भेलाको तयारी

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

इतरपक्षका नेताहरूबीच नियमित भेटघाट, छलफल र संगठनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो। नेता प्रकाशशरण महतका अनुसार हाल कार्यालय सञ्चालनको तयारीस्वरूप सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ। उनले अब इतरपक्षका नेताहरूले यही कार्यालयबाट नियमित छलफल र समन्वय गर्ने बताए।

महतले सम्पर्क कार्यालय स्थापना गर्नुको मुख्य उद्देश्य नेताहरूबीच भेटघाट र आन्तरिक छलफललाई व्यवस्थित बनाउनु रहेको उल्लेख गरे। कार्यालय सञ्चालनका लागि आवश्यक खर्च हाल इतरपक्षका नेताहरूले संयुक्त रूपमा व्यहोर्ने सहमति भएको पनि उनले जानकारी दिए।

इतरपक्षले अघि सारेका मागबारे पार्टी नेतृत्वबाट हालसम्म कुनै ठोस प्रतिक्रिया नआएको महतको भनाइ छ। उनका अनुसार केही समय थप प्रतीक्षा गरेर आगामी रणनीतिबारे निर्णय गरिनेछ। सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको संस्थापन इतरपक्षले अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।

यद्यपि, पार्टी नेतृत्वको कदमलाई ध्यानमा राख्दै तत्कालका लागि ‘पर्ख र हेर’को रणनीति अपनाइएको नेताहरूले बताएका छन्।