आज प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक निर्णयार्थ प्रस्तुत हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकमाथि दफावार छलफल र निर्णयको कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। प्राप्त संशोधनमाथि निर्णय भएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि राखिने कार्यसूची छ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल तथा निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसुची तय गरिएको छ।







