देशभर डेंगु सङ्क्रमण बढ्दो, ६ महिनामा १ हजार ४२ जनामा पुष्टि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालमा पछिल्लो अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमण बढ्दो क्रममा देखिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार गत पुस १७ गतेदेखि हालसम्म देशभर एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
यो अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको छ भने हालसम्म ७१ जिल्लामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ। झापा, सुनसरी, काठमाडौँ, कास्की, चितवन, ओखलढुङ्गा, मकवानपुर र पाल्पा बढी प्रभावित जिल्लामा परेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा बढी सङ्क्रमण कोशी प्रदेशमा २९२ र बागमती प्रदेशमा २६४ जनामा देखिएको छ। त्यसपछि लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णालीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लागत रूपमा झापामा सबैभन्दा धेरै १३८ जना संक्रमित भेटिएका छन्। त्यसपछि काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०–५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९ तथा पाल्पामा ३४ जना संक्रमित भएका छन्।
स्वास्थ्यकर्मीका अनुसार डेंगुका सामान्य लक्षणमा ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने र कमजोरी देखिन सक्छ। सामान्य अवस्थामा पर्याप्त झोलिलो खानेकुरा र चिकित्सकको सल्लाह अनुसार उपचार उपयोगी हुन्छ। तर अत्यधिक पेट दुख्ने, रक्तश्राव हुने, अत्यधिक कमजोरी वा बेहोस हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने सुझाव दिइएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि डेंगु नियन्त्रण र निगरानी कार्यक्रममा बजेट विनियोजन गरेको छ। ‘खोज र नष्ट गर’ अभियानमार्फत लामखुट्टेको लार्भा नष्ट गर्ने योजना अघि बढाइएको छ।







