जेनजी मुभमेन्ट अलायन्सले अख्तियार अघि प्रर्दशन (निवेदन पत्र सहित )
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल पदबाट हट्नुपर्ने माग गर्दै ‘जेनजी मुभमेन्ट अलायन्स’ले प्रर्दशन गरेका छन् । उनीहरुले आज अख्तियार भवन अघि प्रर्दशन गरेका हुन् ।
अख्तियार अनुसन्धान आयोग अघि जम्मा भएका जेनजी प्रर्दशनकारीहरुले प्रमुख आयुक्त सहित सबै आयुक्तहरुको राजिनामा माग गरेका छन् । अख्तियार आयुक्तहरु विवादित बनेको र राजनीतिक आडमा आयोगले प्रभावकारी काम गर्न नसकेको उनीहरुको आरोप छ ।
२०८२ भदौ २३ गतेदेखि सुरु भएको आफुहरुको आन्दोलन भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि भएको भन्दै अख्तियारकै नेतृत्व विवादित रहेकाले यो संस्थाले आफ्नो नैतिक आधार गुमाएको उनीहरुको आरोप छ ।
अलायन्सले प्रमुख आयुक्त प्रेम राईको नाम ठूला विवादित मुद्दामा समेत जोडिँदै आएको दाबी गरेको छ। नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद जस्ता विषयमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिएको भन्दै नैतिक जिम्मेवारी स्वरूप तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।
हाल संघीय संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्ने सम्भावना नभएकाले राजीनामा नै अख्तियारको गरिमा जोगाउने उपाय भएको अलायन्सको भनाइ छ। यससँगै अन्तरिम सरकारले खुला आवेदन प्रक्रियाबाट निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्त नियुक्त गर्नुपर्ने माग पनि गरिएको छ।
समूहले माग पूरा नभए आज देखि अख्तियारमा औपचारिक निवेदन दर्ता गर्ने र त्यसपछि चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
यसै विच संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो ।
जेनजी मुभमेन्ट अलायन्सले राजीनामा मागिएको निवेदन
















