आज काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहान उपत्यकाको आकाशमा बादल लागेको अवस्था छ भने केही स्थानमा हल्का सिमसिम पानी पनि परिरहेको छ।
उनका अनुसार बिहानको वर्षा क्रमशः कम हुँदै जान सक्छ र केही समय घाम देखिने सम्भावना पनि छ। तर दिउँसोपछि फेरि बादल बढ्ने र हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले देशभरको मौसम अवस्था र वर्षाको सम्भावनाबारे बिहान ८ बजे अद्यावधिक विस्तृत मौसम बुलेटिन सार्वजनिक गर्ने जनाएको छ।
मौसमविद्ले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कँदा छाता वा वर्षाबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्।







