पोखरा पुगेर प्रचण्डको दाबी : ‘जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना आएको थियो’

User Image Prime TV News २ हप्ता अगाडि
Image of पोखरा पुगेर प्रचण्डको दाबी : ‘जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना आएको थियो’

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति शीतलनिवासमा बसेर देशलाई अर्को दुर्घटनाबाट जोगाउने विषयमा छलफल भएको बताए। त्यतिबेला देश नयाँ राजनीतिक मोडतर्फ जान लागेको चर्चा व्यापक रूपमा भइरहेको उनको भनाइ थियो।

प्रचण्डका अनुसार त्यस क्रममा नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने सूचना आएको थियो। पछि बुझ्दा दरबार सफा गर्न लगाइएको पुष्टि भएको उनले दाबी गरे। उनले त्यसबेला देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र जनता, नेता तथा कार्यकर्ताबीचको सम्बन्ध कमजोर बनेको अवस्था रहेको उल्लेख गरे।

उनले आफूहरू संसद् विघटनको पक्षमा नरहेको दोहोर्‍याउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्र लेखेपछि देशलाई थप राजनीतिक संकटतर्फ जान नदिन त्यसलाई स्वीकार गरिएको बताए। प्रचण्डले आफ्नो पार्टीको धारणा नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने रहेको र अन्तिम समयसम्म पनि सोही अडान कायम राखिएको दाबी गरे।