सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकन बाँकी रहेको परराष्ट्रमन्त्रीको भनाइ

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकन बाँकी रहेको परराष्ट्रमन्त्रीको भनाइ

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकनको काम अझै बाँकी रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तरका क्रममा बोल्दै मन्त्री खनालले नेपाल र भारतबीच लामो, खुला र ऐतिहासिक सीमा रहेको उल्लेख गर्दै सीमासम्बन्धी केही विषय अझै समाधान हुन बाँकी रहेको बताए।

उनले सन् १८१६ को सगौली सन्धिअनुसार नेपालको अन्तर्राष्ट्रिय सीमा निर्धारण भएको स्मरण गराउँदै नेपाल–भारत सीमा व्यवस्थापनका क्रममा सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकन सम्पन्न हुन बाँकी रहेको जानकारी दिए।

मन्त्री खनालका अनुसार उक्त क्षेत्रहरू नेपालको भूभाग भए पनि दुवै देशका सीमासम्बन्धी संयन्त्रमार्फत नक्सांकनको प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। उनले सीमा सम्बन्धी विषयलाई आपसी संवाद, कूटनीतिक संयन्त्र र स्थापित द्विपक्षीय प्रक्रियामार्फत समाधान गर्ने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए।