देश प्रतिगामी र फाँसीवादी बाटोमा जान नसक्ने एमाले अध्यक्ष ओलीको दाबी

User Image Prime TV News २ हप्ता अगाडि
Image of देश प्रतिगामी र फाँसीवादी बाटोमा जान नसक्ने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी वा फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। उनले फाँसीवादी प्रवृत्तिविरुद्ध विचार मिल्ने सबै शक्तिबीच कार्यगत एकता आवश्यक रहेको धारणा व्यक्त गरे।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले एमाले अहिले देशव्यापी संगठन, स्पष्ट विचार र उद्देश्यसहित अघि बढिरहेको पार्टी भएकाले अन्य दलसँग पार्टी एकीकरण गर्ने चरणमा नरहेको स्पष्ट पारे।

एमालेको नीति, विचार र उद्देश्य स्वीकार गरी पार्टीमा आउन चाहनेका लागि भने ढोका खुला रहेको उनले बताए। ‘यतिबेला पार्टी एकीकरणको कुरा आवश्यक छैन। एमालेलाई अझ सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकता छ,’ ओलीले भने। अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र जनहितका क्षेत्रमा ऐतिहासिक तथा असाधारण काम गरेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ जान आग्रह गरे।

उनले पार्टीले कुनै गलत काम नगरेको दाबी गर्दै त्याग, तपस्या र जनसेवाको राजनीतिमा एमाले प्रतिबद्ध रहेको बताए। साथै, गत वर्ष भदौ २३–२४ मा भएको घटनालाई पार्टीको कमजोरी नभई षड्यन्त्रकारीहरूको गतिविधिको परिणाम भएको टिप्पणी गरे। कार्यक्रममा एमालेका उपाध्यक्ष तथा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो।