मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश भएको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति

User Image Prime TV News २ हप्ता अगाडि
Image of मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश भएको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गर्न पुगेको बताएका छन्।

राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले दार्चुला क्षेत्रमा देखिएको घटनाबारे सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार उक्त हेलिकप्टर नियोजित वा गलत मनशायले प्रवेश नगरेको स्पष्ट पारे।

उनका अनुसार भौगोलिक अवस्था र खराब मौसमका कारण हेलिकप्टर नेपाली भूभागमा प्रवेश गरेको देखिएको छ र यस विषयमा नेपाल र भारतका सम्बन्धित अधिकारीहरूबीच आवश्यक समन्वय तथा सम्पर्क भइरहेको छ। यसै क्रममा मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको जानकारी दिए।

उनले भारतसँग चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न आफूले गरेको पहल सफल भएको दाबी गर्दै हाल नेपाली चिया भारत निर्यात सहज बनेको बताए। मन्त्री खनालका अनुसार गत जेठमा भारत भ्रमणका क्रममा उच्चस्तरीय छलफल भएपछि भारतले आफ्नो नीति परिमार्जन गरेको र त्यसले नेपाली निर्यातमा सहजीकरण भएको हो।