साउनभित्र २ लाख १० हजार मेट्रिकटन रासायनिक मल ल्याइने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको जनाएको छ।
धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई सहज उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको हो। मन्त्रालयका अनुसार सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिकटन युरिया मल आयात हुँदैछ, जुन साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत एक लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया मल रहने मन्त्रालयले जनाएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धतामा चुनौती देखिए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउने गरी आपूर्ति व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ। यस वर्ष हालसम्मकै धेरै रासायनिक मल आयात गर्ने लक्ष्य सरकारले लिएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी, कृत्रिम अभाव वा अन्य अनियमितता देखिएमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ मा सम्पर्क गर्न वा उपलब्ध गराइएको क्युआर कोडमार्फत गुनासो दर्ता गर्न किसानलाई आग्रह गरेको छ।







