पासपोर्ट खरिद प्रकरणबारे जर्मनीको स्पष्टीकरण, ‘नेपाललाई कुनै चेतावनी दिइएको छैन’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा सार्वजनिक भएका केही समाचार गलत वा भ्रामक रहेको भन्दै जर्मनीले आधिकारिक स्पष्टीकरण दिएको छ।
काठमाडौ स्थित जर्मन दूतावासले बुधबार जारी गरेको सूचनामा उक्त प्रकरणका कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको छ। दूतावासले नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू सही नभएको उल्लेख गर्दै तीन बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हो।
स्पष्टीकरणमा बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको जनाइएको छ। दूतावासका अनुसार उक्त भेट स्पष्टीकरण माग्ने उद्देश्यले नभई नियमित कूटनीतिक संवादका लागि भएको हो।
जर्मनीले छलफलका लागि आमन्त्रण गर्नु र स्पष्टीकरण माग्नु फरक कूटनीतिक प्रक्रिया भएको उल्लेख गर्दै यी दुई विषयलाई एउटै रूपमा प्रस्तुत गर्नु तथ्यपरक नहुने जनाएको छ।







