एम्बाप्पे गोल्डेन बुट दौडमा, मेसीसँग बराबरी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । किलियन एमबाप्पेको दुई गोल र माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले फिफा विश्वकप फुटबलमा स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले अर्को चरणमा पराग्वेको सामना गर्नेछ।
यो खेलमा दुई गोल गरेसँगै एमबाप्पे जारी विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा ६ गोलसहित लियोनेल मेसीको बराबरीमा पुगेका छन्। २७ वर्षीय फ्रान्सेली कप्तान एमबाप्पेको विश्वकप इतिहासमा कुल गोल सङ्ख्या १८ पुगेको छ, जुन मेसीको कीर्तिमानभन्दा एक गोलले मात्र कम हो।
पहिलो गोल गरेपछि एमबाप्पे मैदानको कुनातर्फ दौडिँदै प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई अँगालो हाल्न पुगेका थिए। आफ्नी आमाको अन्त्येष्टिका कारण नर्वेविरुद्धको समूह चरणको अन्तिम खेलमा अनुपस्थित रहेका डेसच्याम्प्स यस खेलमा टोलीसँग फर्किएका थिए। १४ वर्षदेखि फ्रान्सेली टोली सम्हाल्दै आएका उनले यही प्रतियोगितापछि प्रशिक्षक पदबाट बिदा लिने तयारी गरेका छन्।
न्यूयोर्क–न्यू जर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब बनाएको थियो। पहिलो हाफको अन्तिम समयमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसअघि एमबाप्पे र ओलिसेका प्रहार पोस्टमा लागेर फर्किएका थिए।
दोस्रो हाफमा पनि फ्रान्सले आफ्नो लय कायम राख्यो। ५३ औँ मिनेटमा ओलिसेको पासमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सलाई २–० को अवस्थामा पुर्याए।
त्यसपछि ७४ औँ मिनेटमा फेरि ओलिसेकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को सहज जित सुनिश्चित गरे।
अब फ्रान्सले आगामी शनिबार फिलाडेल्फियामा दक्षिण अमेरिकी टोली पराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् १९९८ को विश्वकपमा पनि फ्रान्सले अन्तिम १६ मा पराग्वेलाई अतिरिक्त समयमा गोल गर्दै पराजित गरेको इतिहास छ।
उता भिक्टर ग्योकेरेस, अलेक्ज्याण्डर इसाक र एन्थनी एलाङ्गा सम्मिलित स्वीडेनले भने फ्रान्सविरुद्ध उल्लेखनीय अवसर सिर्जना गर्न सकेन। प्लेअफमार्फत विश्वकप पुगेको स्वीडेनका लागि अन्तिम ३२ सम्मको यात्रा नै उपलब्धिमूलक बनेको छ।







