साउदी अरबद्वारा ३३ नेपालीलाई क्षमादान, नेपाल सरकारद्वारा आभार व्यक्त
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साउदी अरब सरकारले विभिन्न कारागारमा रहेका ३३ जना नेपाली नागरिकलाई क्षमादान दिएपछि नेपाल सरकारले औपचारिक रूपमा आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै रमदानको अवसरमा साउदी सरकारले प्रदान गरेको क्षमादानलाई मानवीय तथा सद्भावपूर्ण कदमका रूपमा स्वागत गरेको जनाएको छ।
मन्त्रालयले क्षमादानप्रति साउदी सरकारलाई धन्यवाद दिँदै यसले नेपाल–साउदी अरबबीचको मित्रवत् सम्बन्ध र आपसी सद्भावलाई थप सुदृढ बनाएको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार क्षमादान प्राप्त नेपालीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी क्रमशः स्वदेश फर्कनेछन्।
यद्यपि, क्षमादान पाउने ३३ जना नेपालीको नाम र अन्य विवरण भने सार्वजनिक गरिएको छैन। अरब क्षेत्रका विभिन्न मुलुकले विभिन्न अवसरमा नेपाली कैदीहरूलाई प्रदान गर्ने क्षमादानप्रति नेपाल सरकारले यसअघि पनि औपचारिक रूपमा धन्यवाद व्यक्त गर्दै आएको छ।







