अपहरित लोकतन्त्रलाई पुनःस्थापित गर्न संयुक्त संघर्ष आवश्यक छ : केपी शर्मा ओली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अपहरित लोकतन्त्रलाई पुनःस्थापित गर्न संयुक्त संघर्ष आवश्यक छ : केपी शर्मा ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिहरूबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले “अपहरित लोकतन्त्र” लाई पुनःस्थापित गर्न संयुक्त संघर्ष आवश्यक रहेको बताए।

उनले भने, “देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ।” अध्यक्ष ओलीले तत्कालका लागि पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै त्यस्तो भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीमा व्यक्ति तथा समूह प्रवेशमार्फत संगठन विस्तार गर्ने नीति रहने उल्लेख गरे।

“हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई समेट्दै उदारताका साथ अघि बढ्छौँ,” उनले भने। ओलीले पार्टी एकतामा “पवित्रता” आवश्यक हुने बताउँदै विगतमा एकताको नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको टिप्पणी गरे।

उनले हालको राजनीतिक परिस्थितिलाई लिएर विभिन्न घटनाबारे टिप्पणी गर्दै २०८२ भदौ २३ र २४ गतेका घटनाबारे बनेको आयोगको प्रतिवेदनप्रति पनि प्रश्न उठाए। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले गोली कसले चलायो र सुरक्षा संयन्त्र किन निष्क्रिय भयो भन्ने विषय नसमेटेको भन्दै उनले आयोगको औचित्यमाथि शंका व्यक्त गरे।

ओलीले ती घटनालाई संविधान र लोकतन्त्रविरुद्धको षड्यन्त्रको रूपमा चित्रण गर्दै त्यसलाई “युवा विद्रोह” वा “आन्दोलन” भनेर प्रस्तुत गर्ने प्रयास गलत भएको दाबी गरे। पार्टी पुनर्गठनबारे बोल्दै उनले निष्क्रिय कमिटीहरूलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने बताउँदै संगठनमा एकता, पुनः एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिए।