दलीय विद्यार्थी संरचना हटाउने पत्रप्रति ९ स्ववियु सभापतिको आपत्ति, त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौका ९ वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयले गरेको पत्राचारप्रति आपत्ति जनाउँदै पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छन्।
मंगलबार उनीहरूले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. सुशील बज्राचार्यसहितका पदाधिकारीलाई भेटेर त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको पत्रप्रति ध्यानाकर्षण गराएका हुन्।
ध्यानाकर्षण पत्रमा विश्वविद्यालयलाई प्राज्ञिक स्वतन्त्रता र प्रशासनिक स्वायत्तताबाट टाढा लैजाने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। उनीहरूले यो कदमलाई “सरकारको अज्ञानताको पराकाष्ठा” को संज्ञा दिँदै विश्वविद्यालयलाई सरकारको छायामा पार्ने प्रयास भएको आरोपसमेत लगाएका छन्।
पत्रमा विश्वविद्यालय ज्ञान र विचार–विमर्शको प्राज्ञिक थलो भएकाले दलीय संरचना हटाउने विषयमा गरिएको निर्णयले यसको स्वायत्ततामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ। साथै, विश्वविद्यालयका पदाधिकारीले सरकारलाई यथार्थ जानकारी दिन नसकेको भन्दै असन्तोष व्यक्त गरिएको छ।
उनीहरूले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था नै उच्च शिक्षाको बेथितिको कारण भएको दाबी गर्दै उक्त व्यवस्था अन्त्य गर्नुपर्ने माग पनि अघि सारेका छन्। त्यस्तै, दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्राचारलाई प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रण र हस्तक्षेपको संकेतका रूपमा लिइएको उल्लेख गरिएको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायतका सङ्गठनहरूको कुनै आधिकारिक भौतिक संरचना नरहेको पनि पत्रमा दाबी गरिएको छ।
ध्यानाकर्षण पत्रमा सर्वोच्च अदालतले जारी गरेका अन्तरिम आदेशहरूको अवहेलना हुने गरी विश्वविद्यालय प्रशासनले पत्राचार गरेको आरोपसमेत लगाइएको छ। अदालतको आदेश विपरीत गरिएको कदमलाई गैरकानुनी र निन्दनीय भन्दै यसमा संलग्न पदाधिकारीहरू सत्ताको प्रभावमा परेको आरोप लगाइएको छ।







