रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची, दुई सदस्यको नाम फेरियो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको नामावली सच्याएको छ।
भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनको मतपरिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणको पुनः अध्ययनपछि संशोधित सूची सार्वजनिक गरेको हो।
महाधिवेशनपछि केही उम्मेदवारले आफूले बढी मत प्राप्त गरे पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित हुनबाट वञ्चित भएको गुनासो गरेपछि आयोगले मतपरिणाम पुनः परीक्षण गरेको थियो। संशोधित सूचीअनुसार केन्द्रीय सदस्यबाट कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ। उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको छ।
आयोगका अनुसार महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ बमोजिम जनजाति क्लस्टरतर्फ मतपरिणाम तथा उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात र प्रमाणहरूको अध्ययन गर्दा कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापामगर निर्वाचित भएको पुष्टि भएपछि उनलाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको हो।
त्यस्तै, प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको मतपरिणाम पुनः परीक्षण गर्दा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा त्रुटिवश सोम शर्माको नाम समावेश भएको देखिएकाले बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।







