शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता हो : भीष्मराज आङदेम्बे

User Image Prime TV News ३ हप्ता अगाडि
Image of शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता हो : भीष्मराज आङदेम्बे

काठमाडौ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्ने काम कसैबाट पनि हुन नहुने बताए। नेता आङदेम्बेले नेतृत्वको अकर्मण्यता र दूरदृष्टिको अभावलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने प्रवृत्ति देखिएको टिप्पणी गरे।

सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो राजनीतिक सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले कुनै लहर, आवेग वा क्षणिक उत्तेजनाका आधारमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए।

‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने अवस्थातर्फ फर्किएजस्तो अनुभूति भइरहेको छ, जुन राम्रो होइन,’ उनले भने, ‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपमाथि थोपर्न थालिएको छ। पर्याप्त अभ्यास नै नगरी यसमाथि प्रश्न उठाउनु उचित होइन।’

उनले संघीय शासन व्यवस्थाअन्तर्गतका संरचनालाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। वर्तमान व्यवस्थाले ऐतिहासिक उपलब्धिको प्रतिनिधित्व गर्ने भएकाले यसप्रति अनावश्यक संशय सिर्जना गर्ने काम कसैले गर्न नहुने उनको भनाइ थियो।

आङदेम्बेले संसद् दिवसलाई केवल औपचारिक समारोहका रूपमा नभई लोकतन्त्र, संविधान र जनताप्रतिको प्रतिबद्धता नवीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। साथै, उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबै राजनीतिक दल र सरोकारवालालाई साझा अठोटका साथ अघि बढ्न उनले आह्वान गरे।