अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बंगुर मरे
Prime TV News ३ हप्ता अगाडि 
गोरखा । अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण गोरखामा पछिल्लो दुई महिनायता २५० भन्दा बढी सुँगुर/बंगुर मरेका छन्।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार संक्रमण हाल गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाका केही क्षेत्रमा फैलिएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६ को मानवसेवा आश्रम टोलस्थित किसान राजकुमार श्रेष्ठको फार्ममा ८० वटा तथा सोही क्षेत्रकी जुना रेग्मीको फार्ममा १० वटा बंगुर मरेका छन्।
त्यस्तै, मान्द्रेढुंगाका किसान धनकुमार गुरुङको फार्ममा दुई साताको अवधिमा ६० वटा बंगुर मरेका छन्। अन्य किसानका फार्ममा रहेका सुँगुर/बंगुर पनि संक्रमणकै कारण मरेको केन्द्रले जनाएको छ। हालसम्मको विवरणअनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको छ।
जिल्लामा करिब दुई महिनाअघि पहिलो पटक संक्रमण पहिचान गरिएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए। उनका अनुसार अफ्रिकन स्वाइन फिभरको हालसम्म न त उपचार उपलब्ध छ, न त यसको खोप नै विकास भएको छ। त्यसैले संक्रमण भएपछि सुँगुर/बंगुरको मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ।
संक्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना, उपकरण वा औषधिमार्फत पनि रोग एक स्थानबाट अर्को स्थानमा सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरे। कोइरालाले संक्रमणबाट जोगिन संक्रमित खोर तथा त्यहाँको सम्पर्कबाट टाढा रहन, जैविक सुरक्षा (बायोसेक्युरिटी)का उपाय कडाइका साथ पालना गर्न र शंकास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन किसानलाई सुझाव दिएका छन्।
किसान धनकुमार गुरुङका अनुसार संक्रमण भएका सुँगुर/बंगुरमा सुरुमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा वा दाग देखिने र करिब एक साताभित्र मर्ने लक्षण देखिने गरेको छ।







