मनसुनी वायु कमजोर, पश्चिमी वायुको प्रभाव बढ्दै

User Image Prime TV News एक महिना अगाडि
Image of मनसुनी वायु कमजोर, पश्चिमी वायुको प्रभाव बढ्दै

काठमाडौ । देशमा मनसुनी वायु क्रमशः कमजोर बन्दै गएको छ भने पश्चिमी वायुको प्रभाव केही प्रदेशमा देखिन थालेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूमा पश्चिमी वायु सक्रिय छ।

महाशाखाले मंगलबार जारी गरेको मौसम बुलेटिनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। तराई भूभागमा भने आंशिक बदली रहने जनाइएको छ।

यी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ भने तराई क्षेत्र आंशिक बदली रहनेछ।

कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी तराईका एकदुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ। विभागले वर्षा र चट्याङका सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।