जर्मनीको कल्याण केन्द्रमा गोलीकाण्ड, ६ जनाको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जर्मनीको कल्याण केन्द्रमा गोलीकाण्ड, ६ जनाको मृत्यु

काठमाडौ । जर्मनीमा एक व्यक्तिले पारिवारिक विवादका क्रममा कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनामा चार महिला र दुई पुरुषको ज्यान गएको छ। मृतक सबै केन्द्रका कर्मचारी रहेका छन्।

घटना तीन महिनाकी छोरीको अभिभावकत्वसम्बन्धी विवादसँग जोडिएको बताइएको छ। घटना हुँदा शिशु र उनकी आमा कार्यालयभित्रै भए पनि उनीहरू सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीले घटनामा संलग्न मुख्य संदिग्धसहित तीन जनालाई पक्राउ गरेको छ। घटनापछि सर्वसाधारणका लागि थप जोखिम नरहेको पनि जनाइएको छ।

जर्मनीकी आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सले घटनाको प्रारम्भिक कारण पारिवारिक विवाद भएको बताएकी छन्। स्थानीय समयअनुसार दिउँसो करिब १२ बजेर १० मिनेटमा पहिलो पटक गोली चलेको सूचना प्रहरीलाई पुगेको थियो।

प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अनुसन्धानका क्रममा पक्राउ परेका मुख्य संदिग्ध ४५ वर्षीय टर्की मूलका व्यक्ति रहेको र उनी जर्मनीमै जन्मिएर हानोभर क्षेत्रमा बसोबास गर्दै आएका थिए। उनी छोरीको अभिभावकत्वबारे छलफल गर्न केन्द्रमा पुगेका थिए।

प्रहरीले उनी अघिल्ला केही घटनाका कारण निगरानीमा रहे पनि उनलाई हिंसात्मक व्यक्तिका रूपमा वर्गीकृत गरिएको थिएन र उनीसँग हतियार राख्ने कानुनी अनुमति पनि नभएको जनाएको छ।

घटनापछि संदिग्ध फरार हुने प्रयास गरेका थिए। प्रहरीले पछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।