आन्दोलनको दबाबपछि सर्बियाका राष्ट्रपति भुचिचले राजीनामा घोषणा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सन् २०२४ को नोभेम्बरदेखि जारी विद्यार्थी नेतृत्वको सरकारविरोधी आन्दोलनको दबाबबीच सर्बियाका राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही साताभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
राजधानी बेलग्रेडमा आयोजित सत्तारूढ पक्षको एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्ता मात्र पदमा रहने र त्यसपछि राजीनामा दिएर देशलाई मध्यावधि राष्ट्रपतीय तथा संसदीय निर्वाचनतर्फ लैजाने बताएका हुन्।
सर्बियाको उत्तरी सहर नोभी सादस्थित रेलवे स्टेसनको क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको आन्दोलन पछिल्लो डेढ वर्षदेखि निरन्तर जारी छ। आन्दोलनकारी विद्यार्थी, विपक्षी दल र नागरिक समाजले उक्त दुर्घटनालाई सरकारी लापरबाही, कमजोर निर्माण व्यवस्थापन र संस्थागत भ्रष्टाचारको परिणाम भन्दै सरकारको आलोचना गर्दै आएका छन्।
यसअघि प्रदर्शनकारीलाई ‘विदेशी एजेन्ट’को संज्ञा दिएका भुचिचले सन् २०२७ मा कार्यकाल सकिनुअघि निर्वाचन नहुने अडान लिएका थिए। तर आन्दोलनको चर्को दबाबपछि उनले अन्ततः आफ्नो निर्णय परिवर्तन गरेका हुन्।
सर्बियाको संविधानअनुसार दोस्रो कार्यकाल पूरा गर्दै रहेका भुचिच पुनः राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन्। यद्यपि, राजनीतिक विश्लेषकहरूले उनको राजीनामालाई राजनीतिबाट बहिर्गमनभन्दा पनि नयाँ सत्ता रणनीतिको रूपमा व्याख्या गरेका छन्।
विश्लेषकहरूका अनुसार भुचिचले राष्ट्रपतिबाट हटेर आफ्ना निकट सहयोगीलाई उक्त पदमा अघि सार्ने र आगामी संसदीय निर्वाचनमार्फत आफ्नो सत्तारूढ ‘सर्बियन प्रोग्रेसिभ पार्टी’लाई बहुमत दिलाएर पुनः प्रधानमन्त्रीका रूपमा सत्ता सम्हाल्ने योजना बनाएको हुनसक्ने आकलन गरिएको छ।
यसअघि सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्री रहिसकेका भुचिचले आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनावी अभियान ‘युनाइटेड सर्बिया’ नामबाट अघि बढाउने प्रस्ताव पनि गरेका छन्। यद्यपि, राजीनामाको घोषणापछि पनि आन्दोलन रोकिएको छैन।
बेलग्रेडदेखि दक्षिणमा रहेको क्रालेभो सहरमा भेला भएका हजारौँ प्रदर्शनकारीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। आन्दोलनका अगुवाहरूले भुचिचले औपचारिक रूपमा पद छोडे पनि पर्दापछाडिबाट राजनीतिक प्रभाव कायम राख्ने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका छन्।







