जनताको विश्वास जित्ने गरी काम गर्न सभामुख अर्यालको सांसदलाई आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको विश्वास र मूल्यांकनमा अब्बल हुने गरी आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
सोमबार सिंहदरबारमा संघीय संसद् सचिवालयद्वारा आयोजित दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदबीच सकारात्मक र स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले राम्रो कानुन निर्माण, मर्यादित व्यवहार र प्रभावकारी प्रस्तुतिमार्फत जनताको अपेक्षा पूरा गर्न सांसदहरूले प्रयास गर्नुपर्ने बताए।
उनका अनुसार लाखौँ मतदाताले विश्वासका साथ निर्वाचित गरेर संसदमा पठाएकाले सांसदका हरेक गतिविधि जनताको निगरानी र मूल्यांकनमा रहने गर्छन्। त्यसैले संसद्भित्र र बाहिर दुवै ठाउँमा जिम्मेवार, अनुशासित र उदाहरणीय व्यवहार देखाउन आवश्यक रहेको उनले उल्लेख गरे।
सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रमले सांसदहरूको संसदीय भूमिका अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि जनाउँदै यस्ता कार्यक्रमप्रति सांसदहरू थप जिम्मेवार र गम्भीर बन्नुपर्ने धारणा पनि राखे।







