वाम एकताको बहसमा गोकुल बाँस्कोटाको असन्तुष्टि, नेतृत्वको आलोचना

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वाम एकताको बहसमा गोकुल बाँस्कोटाको असन्तुष्टि, नेतृत्वको आलोचना

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वामपन्थी एकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले वाम एकताको रटानलाई नेतृत्वको असफलता ढाकछोप गर्ने र शक्तिमा टिकिरहने प्रयासको रूपमा टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले पटक–पटक फुटेको राजनीतिक समीकरणलाई फेरि जोड्ने प्रयासलाई “फुटेको हाँडी जोड्ने लालसायुक्त रोग” को संज्ञा दिएका छन्। उनले वाम एकताको बहसलाई नेतृत्वबाट चलाइएको “भुत्ते हतियार” भएको उल्लेख गर्दै यसले वास्तविक समस्या समाधान नगर्ने बताएका छन्।

उनले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै विगतमा पार्टी विभाजन गरिनु गल्ती भएको स्वीकार गर्नुपर्ने धारणा राखेका छन्। साथै, नेतृत्वले आफूभन्दा सहकर्मीलाई अघि बढाउने साहस देखाउन पनि उनले प्रश्न उठाएका छन्।

“सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भयो भन्न सक्नुपर्छ,” भन्दै उनले “आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?” भन्ने प्रश्नसमेत गरेका छन्। आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न कम्युनिस्ट दलका शीर्ष नेताहरूले वाम एकताको आवश्यकता औंल्याएका थिए।

उक्त धारणा सार्वजनिक भएपछि एमालेभित्र नै फरक–फरक प्रतिक्रिया देखिन थालेका छन्। यसअघि एमाले महासचिव शंकर पोखरेलले पनि वाम एकताको बहसबारे असहमति जनाएका थिए।