शेख हसिनाको घोषणा : यसै वर्ष बंगलादेश फर्किने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of शेख हसिनाको घोषणा : यसै वर्ष बंगलादेश फर्किने

काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतबाट मृत्युदण्डको फैसला सुनाइएपछि उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

७८ वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै बंगलादेश छोडेर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्।

भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताउँदै आफूमाथिको अदालती प्रक्रिया अवैध, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन्।

उनले भनिन्, आफूविरुद्ध धेरै षड्यन्त्र भए पनि ती सबै पार गर्दै पाँच पटक जनमतबाट प्रधानमन्त्री बनेको र देशको विकासका लागि काम गरेको दाबी गरिन्। साथै उनले स्पष्ट रूपमा यसै वर्ष बंगलादेश फर्किने घोषणा गरिन्।

गत वर्ष नोभेम्बरमा ढाकास्थित अदालतले हिंसा भड्काएको, हत्याको आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई दोषी ठहर गरेको बताइएको थियो।

यसैबीच, उनको नेतृत्वको अवामी लिग माथि पनि प्रतिबन्ध लगाइएको छ। एक समय बंगलादेशकै सबैभन्दा प्रभावशाली राजनीतिक शक्ति मानिने उक्त दल अहिले कानुनी प्रतिबन्धको सामना गरिरहेको छ।

सन् २०२४ पछि भएको राजनीतिक परिवर्तनसँगै भारत–बंगलादेश सम्बन्धमा तनाव बढेको थियो। बंगलादेशले लगातार शेख हसिनाको प्रत्यर्पण माग गर्दै आएको छ। पछिल्लो समय नयाँ सरकार गठनपछि भने दुई देशबीच संवाद फेरि सक्रिय बन्दै गएको बताइएको छ।