कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा छ: विद्या भण्डारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा  छ: विद्या भण्डारी

काठमाडौ । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा रहेको बताएकी छन्।

उनले बदलिँदो सामाजिक, राजनीतिक र प्रविधिगत परिवेशअनुसार आन्दोलनले आफ्ना नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर दिएको बताइन्।

कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्य वा जनताको बहुदलीय जनवादको सान्दर्भिकतामाथि हतारमा निष्कर्ष निकाल्नु उचित नहुने उनको भनाइ थियो । भण्डारीले बदलिँदो पुस्ता, सामाजिक संरचनामा आएको परिवर्तन, प्रविधिको तीव्र विकास र युवापुस्ताका नयाँ आकांक्षालाई मध्यनजर गर्दै आन्दोलनले मूल आदर्श र सिद्धान्तलाई कायम राख्दै समयअनुकूल नीति तथा अभ्यास विकास गर्नुपर्नेमा जोड दिइन्।

उनले आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्धमार्फत आन्दोलनको सान्दर्भिकता, प्रभावकारिता र भविष्यप्रतिको विश्वास अझ सुदृढ बनाउनुपर्ने बताइन्। मदन भण्डारीले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या रचनात्मकताको अभाव भएको उल्लेख गरेको स्मरण गर्दै उनले वर्तमान चुनौतीहरूले उक्त निष्कर्षलाई अझ सान्दर्भिक बनाएको धारणा राखिन्।

भण्डारीले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको स्वीकार गर्नुपर्ने बताइन्। उनका अनुसार जनताको विश्वास पुनः प्राप्त गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा नभई समयसापेक्ष, उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित छ।

युवापुस्ताको आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यवहारिक र नवीन दृष्टिकोण अपनाउन सके मात्र कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र लोकप्रिय बनाउन सकिने उनको भनाइ थियो।