प्रतिगमन पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक : ओली
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा समाजवाद निर्माणको बहसभन्दा प्रतिगमनलाई पराजित गर्नु मुख्य आवश्यकता भएको बताएका छन्।
आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले प्रतिगमनविरुद्ध सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखे।
“अहिले समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो,” उनले भने, “प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिले कार्यगत एकतामार्फत अघि बढ्नुपर्छ।”
ओलीले पछिल्लो समय वामपन्थी शक्तिको चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै एमालेका नीति सही रहेको दाबी गरे। “नेकपा एमाले आफ्ना नीतिहरू सही छन् कि गलत छन् भन्ने विषयमा कुनै एकता वा एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन,” उनले भने, “हाम्रा नीति एकदमै सही छन्।”
उनले एमालेले जनताको बहुदलीय जनवादलाई समयानुकूल परिमार्जन गर्दै वर्तमान राजनीतिक आवश्यकताअनुसार अघि बढाइरहेको पनि बताए।







