कम्युनिस्टहरूबीच तत्काल सहकार्य आवश्यक: प्रचण्ड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरूबीच तत्काल सहकार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले सहकार्यमा ढिलाइ भए देश गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए। प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै यस्तो परिस्थिति रोक्न वामपन्थी र देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताए।
“नेपालमा कम्युनिस्ट आन्दोलनलाई कसरी समाप्त गर्ने भन्ने प्रयास भइरहेको छ। भारतमा कम्युनिस्ट सिध्याइयो भनेर घोषणा भएको सुनेका छौँ,” उनले भने, “नेपालमा पनि यस्तै प्रयास भइरहेको छ। भदौ २४ लगायतका घटनाहरू यसैको परिणाम हुन सक्छन्।”
उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र वैदेशिक हस्तक्षेपविरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिँदै सहकार्य ढिला भए ‘भयानक दुर्घटना’ हुन सक्ने चेतावनी दिए। तर, उनले पार्टी एकताको तत्काल घोषणा आफूले नगरेको स्पष्ट पार्दै सहकार्यलाई प्राथमिक चरणबाट अघि बढाउन सकिने बताए।
“मैले आजै वा भोलि पार्टी एकता गरौँ भनेको होइन,” उनले भने, “सहकार्य गर्न सकिन्छ भने आजै गरौँ भनेको हो। संसदमा, सडकमा, चुनावमा सहकार्य सम्भव छ। ढिला गर्नु हुँदैन।” प्रचण्डले सहकार्यलाई ढिलाइ गर्नु राजनीतिक रूपमा गलत हुने धारणा समेत राखे।







