कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्ने कुरा सुन्दा कहिलेकाहीँ दिमाग नै अलमलिन्छः माधब नेपाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जवज) पुरानो भए पनि त्यसको अवमूल्यन गर्न नहुने बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
नेपालले कम्युनिस्ट आन्दोलन झण्डै दुई तिहाइ बहुमत नजिक पुगे पनि पछिल्ला दिनमा कमजोर किन भयो भन्ने विषयमा आत्ममूल्यांकन आवश्यक रहेको बताए। उनले पार्टीभित्र देखिएका विकृति र विसङ्गतिबारे गम्भीर आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिए।
उनले मदन भण्डारीको दूरदृष्टि र नेतृत्व क्षमताबाट सिक्नुपर्ने उल्लेख गर्दै वास्तविकताको धरातलमा उभिएर चुनौती सामना गर्ने क्षमता नै भण्डारीको मुख्य विशेषता रहेको बताए। “यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर छलफल र बहस गर्दै मिल्न सक्ने कुरामा मिल्नुपर्छ,” उनले भने, “राष्ट्रियता गम्भीर चुनौतीमा छ। देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नुपर्छ।”
नेपालले वर्तमान राजनीतिक अवस्थाप्रति संकेत गर्दै विदेशी प्रभावप्रति सचेत रहनुपर्ने धारणा पनि राखे। उनले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्ट शक्तिहरूले अग्रसर भूमिका खेल्नुपर्ने बताए। सरकारका गतिविधिप्रति सन्देह व्यक्त गर्दै उनले कम्युनिस्टहरूबीच सहकार्य र एकता अपरिहार्य भएको उल्लेख गरे।
“मिल्ने कुरा मात्र ठूलो होइन, भावनामा र विधि–पद्धतिमा पनि मिल्नुपर्छ,” उनले भने, “कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्ने कुरा सुन्दा कहिलेकाहीँ दिमाग नै अलमलिन्छ।”
उनले पार्टीभित्र आत्मकेन्द्रित सोच अन्त्य गर्दै सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।







