इन्धनको मूल्य अब घट्ने अर्थमन्त्री वाग्लेको दाबी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इन्धनको मूल्य अब घट्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्व सहज हुँदै गएको कारण पेट्रोलियम पदार्थको मूल्य अब घट्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले इन्धनको मूल्यवृद्धिबाट आम उपभोक्तालाई परेको भार कम गर्न सरकारले सुरुवातमै कर छुटको व्यवस्था गरेको पनि जानकारी दिए।

उनका अनुसार अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको दुई हप्ताभित्रै पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको थियो। अर्थमन्त्री वाग्लेले मध्यपूर्वको अवस्था हाल क्रमशः सामान्य हुँदै गएको उल्लेख गर्दै त्यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत देखिन थालेको बताए।

“क्रुड प्राइस घटिसकेको छ। तर त्यसको प्रभाव भारतीय आयल निगममार्फत नेपालसम्म आइपुग्न केही समय लाग्छ,” उनले संसदमा भने, “त्यो प्रक्रिया पूरा भएपछि नेपालमा पनि इन्धनको मूल्य घट्नेछ।”

उनले सरकारले इन्धन आपूर्तिको लागत घटाउन आवश्यक नीतिगत पहल निरन्तर गरिरहेको दाबीसमेत गरे।