युद्धविराम उल्लंघन दोहोरिए इरानको अस्तित्व समाप्त हुन सक्ने ट्रम्पको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of युद्धविराम उल्लंघन दोहोरिए इरानको अस्तित्व समाप्त हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौताको उल्लंघन निरन्तर जारी रहे इरानविरुद्ध थप सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्।

उनले यस्तो अवस्था आए इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै संकटमा पर्न सक्ने दाबी गरेका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युद्धविराम पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।

उनले लेखेका छन्, "युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका छन्।" ट्रम्पले इरानले आफ्ना गतिविधिमा परिवर्तन नगरे अमेरिकाले थप कडा कदम चाल्न सक्ने संकेत पनि दिएका छन्।

उनले भनेका छन्, "उनीहरूले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि पूर्ण रूपमा छ। यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूरा गर्न बाध्य हुन सक्छौँ।"

उनले युद्धविराम उल्लंघन जारी रहे थप सैन्य कारबाही अपरिहार्य हुन सक्ने चेतावनी दिँदै भने, "यदि त्यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व रहने छैन।" यसअघि अमेरिकी पक्षले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप सैन्य कारबाही गरिएको दाबी गरेको थियो।

यद्यपि उक्त घटनाबारे इरानको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।