देशभर मनसुन विस्तार हुँदै, केही क्षेत्रमा भारी वर्षा र हुरीको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशका पूर्व तथा मध्य भूभागमा मनसुनको प्रभाव विस्तार हुँदै गएको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिने सम्भावना रहेको छ।
हाल सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि देशका अन्य भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।
आज राति पनि मौसम बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी नदी किनार, पहिरो जोखिम क्षेत्र र खुला स्थानमा सावधानी अपनाउन सुझाव दिइएको छ।







