राप्रपामा एकता र नेतृत्वबारे लिङ्देनको सन्देश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमाथि देशी तथा विदेशी शक्तिको दबाब र घेराबन्दी भइरहेको दाबी गर्दै यस्तो अवस्थामा पार्टी छोड्नेहरूबारे आफूले टिप्पणी नगर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कठिन परिस्थितिमा पनि राप्रपाको राजनीतिक यात्रा नरोकिने बताएका हुन्। केही नेता बाहिरिए पनि पार्टीलाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो।
लिङ्देनले पछिल्लो निर्वाचनपछि धेरै दलको राजनीतिक प्रभाव घटेको उल्लेख गर्दै राप्रपा भने राष्ट्रिय राजनीतिक शक्तिका रूपमा कायम रहेको दाबी गरे। उनले जनताले खोजेको विकल्प बन्ने क्षमता राप्रपासँग रहेको पनि बताए।
उनले नयाँ राजनीतिक शक्तिहरू पनि पुरानाजस्तै व्यवहारमा गए देशलाई वैकल्पिक दिशा दिने जिम्मेवारी राप्रपामाथि आउने धारणा राखे। साथै युवा पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभवलाई मिलाएर अघि बढ्ने पार्टी राप्रपा भएको उल्लेख गरे।
भाषणका क्रममा उनले नेतृत्व क्षमता उमेरले मात्रै निर्धारण नहुने भन्दै विश्वका विभिन्न देशमा उच्च उमेरका नेताहरूले पनि नेतृत्व गरिरहेको उदाहरण प्रस्तुत गरेका थिए।







