विज्ञान तथा प्रविधि मन्त्रालयका लागि नयाँ सचिव खोजी सुरु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विज्ञान तथा प्रविधि मन्त्रालयका लागि नयाँ सचिव खोजी सुरु

काठमाडौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि नयाँ सचिव चयन प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।

हाल कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको कार्यकाल सकिएर बुधबारदेखि अवकाश हुन लागेकाले नयाँ सचिव नियुक्तिको तयारी अघि बढाइएको हो।

मन्त्री पुनका अनुसार मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभव भएको, कार्यसम्पादन क्षमता उच्च भएको र परिणाममुखी नेतृत्व दिन सक्ने सचिव आवश्यक रहेको छ।

यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले मन्त्रालयका लागि योग्य र अनुभवी सचिवको खोजी विभिन्न माध्यमबाट भइरहेको बताएका छन्। उनले यस प्रक्रियामा सम्बन्धित क्षेत्रका जानकार र सरोकारवालासँग समेत सहयोग र सुझावको अपेक्षा गरेको उल्लेख गरेका छन्।

नयाँ सचिव नियुक्तिबारे स्पष्ट पार्दै मन्त्री पुनले बाहिरबाट विज्ञ ल्याउने विषयमा चर्चा भए पनि हालको कानुनी व्यवस्थाअनुसार सरकारी सेवामै कार्यरत कर्मचारीहरू मध्येबाटै सचिव छनोट गरिने जानकारी दिएका छन्।

उनका अनुसार विज्ञान तथा नवप्रवर्तनजस्ता क्षेत्रको आवश्यकता बुझ्ने, नीति कार्यान्वयन गर्न सक्ने र परिणाम दिने नेतृत्व छनोट गर्न विभिन्न तहमा परामर्श र समन्वय भइरहेको छ।

मन्त्री पुनले मन्त्रालयलाई प्रभावकारी बनाउन सक्षम प्रशासनिक नेतृत्व आवश्यक रहेको भन्दै उपयुक्त व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको बताएका छन्।