पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबीका अनुसार शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा हात्तीगौंडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीसँग सम्बन्धित आर्थिक अनियमितताको विषय जोडिएको प्रहरीले जनाएको छ।
विद्यालयको कार्यकारी प्रमुखका रूपमा काम गरेका बेला उनले विद्यालयको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको रकम अपचलन गरी व्यक्तिगत लाभ लिएको आरोप अनुसन्धानको केन्द्रमा रहेको छ।
प्रहरीका अनुसार विद्यालयलाई आर्थिक रूपमा हानि पुग्ने उद्देश्यले विभिन्न निर्णय गरिएको आशंका छ। अनुसन्धानमा भक्तपुरको दधिकोट क्षेत्रमा रहेको २९ रोपनी ४ आना जग्गा आफू सम्बद्ध कम्पनीमा हस्तान्तरण गरिएको विषय पनि समावेश गरिएको छ।
त्यस्तै विद्यालयका लागि छुट्याइएको रकमबाट आफू निकट कम्पनीको नाममा जग्गा तथा सवारी साधन खरिद गरिएको र त्यसबाट संस्थाको अधिकार प्रभावित भएको आरोप पनि लगाइएको छ।
विद्यालयको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको भन्दै शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरी परेको थियो। उक्त विषयमा अदालतले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सीआईबीले प्रक्रिया अगाडि बढाएको बताइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







