रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा मन्त्री रामजी यादव पराजित, अन्य सात मन्त्री विजयी
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचनमा रामजी यादव पराजित भएका छन्।
खुला केन्द्रीय सदस्य पदका लागि भएको प्रतिस्पर्धामा उनी पर्याप्त मत ल्याउन असफल भएका हुन्। पार्टी निर्वाचन आयोगका अनुसार यादवले २,९५९ मतमध्ये ८६९ मत प्राप्त गरेका थिए। ६४ जना खुला केन्द्रीय सदस्यका लागि २१० जनाबीच प्रतिस्पर्धा भएको थियो।
यसैबीच, मन्त्रिपरिषद्का अन्य आठ सदस्यमध्ये सात जना मन्त्रीहरू भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित हुनेमध्ये शिशिर खनाल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, सीता बादी, निशा मेहता र गीता चौधरी रहेका छन्।
निर्वाचनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सर्वाधिक २,६०७ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्। त्यस्तै कानुनमन्त्री समेत रहेकी सोविता गौतमले २,५९४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन्। परराष्ट्रमन्त्री शिशिर खनालले २,४९५ मत र ऊर्जा तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले २,०९४ मत प्राप्त गरेका छन्।
रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ। पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित भइसकेका छन् भने बाँकी सदस्यहरू मनोनयन र पदेन प्रक्रियाबाट चयन हुनेछन्।







