रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु, सहमतिको प्रयास भने जारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु, सहमतिको प्रयास भने जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ।

चितवनमा जारी महाधिवेशनमा पहिलो चरणमा सभापति र एक उपसभापति निर्विरोध चयन भएपछि बाँकी पदका लागि दोस्रो चरणको निर्वाचन भइरहेको हो। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। पुरुषतर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।

महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा भइरहेको छ। महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्। सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा भइरहेको छ।

महिला सहमहामन्त्री पदमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मासहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। मतदान सुरु भइसके पनि नेतृत्व चयनमा सकेसम्म सहमति कायम गर्ने प्रयासस्वरूप शीर्ष नेताहरूबीच छलफल भने अझै जारी रहेको जनाइएको छ।