ट्युनिसियामाथि सहज जित निकाल्दै नेदरल्याण्ड्स समूह विजेता, जापान दोस्रो हुँदै अघि बढ्ने सम्भावना बलियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ट्युनिसियामाथि सहज जित निकाल्दै नेदरल्याण्ड्स समूह विजेता, जापान दोस्रो हुँदै अघि बढ्ने सम्भावना बलियो

काठमाडौ । फिफा विश्वकपको समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै समूह विजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेदरल्याण्ड्सले तेस्रो मिनेटमै अग्रता बनाएको थियो। ट्युनिसियाका एलिस स्किरीबाट भएको आत्मघाती गोलले डच टोलीलाई सुरुआती लाभ दिलायो। त्यसको चार मिनेटपछि ब्रायन बबीले गोल थप्दै नेदरल्याण्ड्सलाई २–० को बलियो अवस्थामा पुर्‍याए।

पहिलो हाफपछि ट्युनिसियाले खेलमा फर्कने प्रयास गर्‍यो। टोलीका लागि हाजेम मस्त्यौरीले गोल गर्दै अन्तर घटाए। तर दोस्रो हाफको ६३औँ मिनेटमा जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड्सले ३–१ को स्पष्ट जित सुनिश्चित गर्‍यो।

समूह चरणमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनमाथि ५–१ को प्रभावशाली जित निकालेको थियो। ट्युनिसियाविरुद्धको जितसँगै डच टोलीले कुल ७ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ।

उता, समूहकै अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेले। जापानका लागि डेजिन मेदाले ५५औँ मिनेटमा गोल गरेका थिए भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१औँ मिनेटमा बराबरी गोल फर्काए।

जापानले समूह चरणमा ट्युनिसियालाई ४–० ले हराएको थियो र नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो। स्वीडेनले ट्युनिसियामाथि जित निकाले पनि नेदरल्याण्ड्ससँग ठूलो अन्तरले पराजित भएको थियो।

समूहको अन्तिम तालिकाअनुसार नेदरल्याण्ड्स शीर्ष स्थानमा रहँदा जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेका छन्। तीनवटै खेल गुमाएको ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।