कक्षा १२ नतिजा विवादबारे छानबिन समिति गठन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विद्यार्थीहरूले उठाएको गुनासो सम्बोधन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। मन्त्रालयका अनुसार उक्त समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र का उपसचिवहरूको समेत प्रतिनिधित्व रहनेछ।
कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा त्रुटि भएको दाबी गर्दै विद्यार्थीहरूले केही दिनदेखि विरोध जनाइरहेका छन्। बिहीबार उनीहरूले काठमाडौंस्थित माइतीघर मण्डला मा प्रदर्शनसमेत गरेका थिए। विद्यार्थीहरूको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा हतार नगरिएको दाबी गरेका छन्।
उनका अनुसार आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा निर्धारित समयमै सार्वजनिक गरिएको हो। यसैबीच, मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्। शान्तिपूर्ण रूपमा आफ्नो माग राखिरहेका विद्यार्थी वा समूहप्रति गालीगलौज तथा असम्मानजनक अभिव्यक्ति प्रयोग गर्नु उचित नहुने उनको भनाइ छ।
कक्षा १२ को नतिजामा देखिएको भनिएको त्रुटि, पुनर्योग शुल्क तथा मूल्याङ्कन प्रक्रियाबारे विद्यार्थीहरूको असन्तुष्टि बढिरहेका बेला सरकारले गठन गरेको समितिले गर्ने अध्ययन र प्रतिवेदनलाई चासोका साथ हेरिएको छ।







