रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधि अनुपस्थित
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा करिब एक तिहाइ प्रतिनिधि सहभागी नभएको पाइएको छ।
रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्रै मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधिले मतदान प्रक्रियामा सहभागिता जनाएनन्।
बिहीबार सम्पन्न मतदानबाट पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। केन्द्रीय सदस्य पदका लागि ३७९ जनाले उम्मेदवारी दिएका छन् भने तीमध्ये ९९ जना निर्वाचित हुनेछन्। निर्वाचन आयोगले देशभित्र रहेका प्रतिनिधिहरूको मतदान सम्पन्न भएको जनाएको छ।
अब विदेशमा रहेका प्रवासी प्रतिनिधिका लागि मोबाइल एपमार्फत मतदान गराउने तयारी गरिएको छ। प्रवासबाट हुने मतदान पूरा भएपछि मात्रै अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।
तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ। निर्वाचन प्रक्रिया लम्बिँदा महाधिवेशन पाँचौँ दिनसम्म पुगेको छ।







