रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि घर फर्कन थाले, पदाधिकारी निर्वाचन अन्योलमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि घर फर्कन थाले, पदाधिकारी निर्वाचन अन्योलमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी प्रतिनिधिहरू केन्द्रीय सदस्यका लागि मतदान गरेलगत्तै घर फर्कन थालेका छन्। महाधिवेशनको अवधि पूर्वनिर्धारित समयभन्दा दुई दिन लम्बिएपछि प्रतिनिधिहरूको फर्कने क्रम बढेको हो।

महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि बुधबार मध्यरातिदेखि मतदान जारी छ। मतदान प्रक्रिया अपेक्षाभन्दा लामो समयसम्म चलेका कारण बिहीबार दिउँसोसम्म पनि मतदान सकिने अवस्था नदेखिएको सहभागीहरूले बताएका छन्।

पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारीहरूको चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ। तर दोस्रो चरणको मतदान कहिले हुने भन्ने स्पष्ट कार्यतालिका अझै सार्वजनिक गरिएको छैन।

यही अनिश्चितताका कारण धेरै प्रतिनिधिहरू पदाधिकारी निर्वाचनको प्रतीक्षा नगरी घर फर्कन थालेका छन्। गण्डकी प्रदेशबाट आएका एक प्रतिनिधिले पदाधिकारीको निर्वाचन जे भए पनि आफू फर्किन लागेको बताएका छन्।

महाधिवेशनको अवधि लम्बिएपछि मंगलबारदेखि नै केही प्रतिनिधिहरू फर्कन थालेका थिए। भूगोलतर्फबाट केन्द्रीय सदस्य पदका एक उम्मेदवारका अनुसार आधाभन्दा बढी प्रतिनिधिले चितवन छोडिसकेको अनुमान गरिएको छ। पार्टीको निर्वाचन आयोगले प्रतिनिधिहरूको उपस्थितिबारे यकिन तथ्यांक सार्वजनिक गरेको छैन। आयोगका अनुसार महाधिवेशनमा करिब ४ हजार १ सय प्रतिनिधि सहभागी छन्।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा मतदान व्यवस्थापन, समय तालिका र निर्वाचन प्रक्रियाबारे प्रश्न उठिरहेका बेला प्रतिनिधिहरूको घट्दो उपस्थितिले आगामी पदाधिकारी निर्वाचनको सहभागिता र वैधानिकतामाथि समेत चासो बढाएको छ।