प्रतिस्पर्धी उम्मेदवारलाई मत दिनुपर्ने अवस्था सिर्जना गरिएको भन्दै रास्वपा भित्र असन्तुष्टि , राजीव खत्री भने ‘नो भोटको धज्जी’ टिप्पणी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिस्पर्धी उम्मेदवारलाई मत दिनुपर्ने अवस्था सिर्जना गरिएको भन्दै रास्वपा भित्र असन्तुष्टि , राजीव खत्री भने ‘नो भोटको धज्जी’ टिप्पणी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियाप्रति पार्टीभित्रैबाट असन्तुष्टि सार्वजनिक हुन थालेको छ। प्रतिनिधि सभा सदस्य राजीव खत्रीले मतदान व्यवस्थापनको आलोचना गर्दै ‘नो भोट’ को अवधारणाको धज्जी उडाइएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद खत्रीले आफ्नै प्रतिस्पर्धी उम्मेदवारलाई समेत अनिवार्य रूपमा मत दिनुपर्ने अवस्था सिर्जना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले “संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। "नो भोटको धज्जी” भनेर लेखेका छन्।

मतदान प्रक्रियाबारे असन्तुष्टि जनाउनेमा खत्री मात्र छैनन्। धनञ्जय रेग्मी ले पनि महाधिवेशनमा देखिएको अव्यवस्था र व्यवस्थापकीय कमजोरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीका पदाधिकारीहरूको कार्यशैलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रास्वपाको छविमा असर पुगेको टिप्पणी गरे।

रेग्मीले नेतृत्वको आलोचना गर्दा आफू निर्वाचनमा पराजित हुन सक्ने अवस्था आउन सक्ने संकेत गर्दै पनि देखिएको बेथितिविरुद्ध बोल्न आवश्यक ठानेको बताए। उनले भरतपुरमा देखिएको व्यवस्थापनको अवस्थालाई संकेत गर्दै यस्तो अभ्यासका आधारमा देश सञ्चालन गर्न नसकिने चेतावनीसमेत दिए।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा पहिलो चरणअन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। मतदान प्रक्रियालाई लिएर उठेका प्रश्न र नेताहरूको सार्वजनिक असन्तुष्टिले महाधिवेशनको आन्तरिक लोकतान्त्रिक अभ्यासबारे थप बहस सिर्जना गरेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।