रास्वपा महाधिवेशनमा ‘भोट हाल्नैपर्ने’ सूची वितरण भएको दाबी, प्रतिनिधिमाझ असन्तुष्टि
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा प्रतिनिधिहरूलाई निश्चित उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै उम्मेदवारहरूको सूची वितरण गरिएको दाबी गरिएको छ। उक्त विषयलाई लिएर महाधिवेशनस्थलमा चर्चा र असन्तुष्टि समेत देखिएको बताइएको छ।
महाधिवेशन प्रतिनिधिहरूमाझ वितरण गरिएको भनिएको सूचीमा ५७ जना उम्मेदवारको नाम समावेश रहेको स्रोतहरूले बताएका छन्। सूचीमा बालेन्द्र शाह (बालेन) निकट मानिएका तथा विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा प्रवेश गरेका केही उम्मेदवारहरूको नाम समेत रहेको उल्लेख छ।
प्रतिनिधिहरूमध्ये केहीले निर्वाचनमा स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा निश्चित उम्मेदवारलाई मतदान गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सूची वितरण गरिएको आरोप लगाएका छन्। उनीहरूले यस्तो गतिविधिले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउने बताएका छन्।
यद्यपि, सूची कसले तयार पारेको हो, कसको पहलमा वितरण गरिएको हो र यो पार्टीको आधिकारिक धारणा हो वा होइन भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन। यसैबीच, चितवनको भरतपुर मा जारी मतदान प्रक्रियाअन्तर्गत पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान भइरहेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व र केन्द्रीय संरचना चयन हुने भएकाले प्रतिनिधिहरूको चासो उच्च रहेको छ।







