रास्वपाको प्रथम महाधिवेशनमा मतदान जारी, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। गएराति १२ बजेदेखि सुरु भएको मतदान मध्याह्न १२ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्वाचन समितिका अनुसार बिहान ५:५० बजेसम्म करिब एक हजार चार सय प्रतिनिधिले मतदान गरिसकेका छन्। मतदान प्रक्रिया विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको छ।
प्राविधिक संयोजक लक्ष्मण रिमालका अनुसार हालको गति कायम रहेमा निर्धारित समयभित्र मतदान सम्पन्न हुने अनुमान गरिएको छ। उनका अनुसार एक प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न औसतमा करिब १५ मिनेट लागिरहेको छ।
महाधिवेशनमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ। यस निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ । केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने मतदानमा सहभागी हुने मतदाताको संख्या करिब ४२ सय रहेको जनाइएको छ।
निर्वाचन समितिले मतदान सकिएको करिब दुई घण्टाभित्र प्रारम्भिक मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। रास्वपाको पहिलो महाधिवेशन भएकाले नेतृत्व चयन प्रक्रिया र त्यसको परिणामलाई विशेष चासोका साथ हेरिएको छ।







